कहिले शिक्षकको गाला चड्काएको निहुँमा त कहिले मासिक शुल्क बुझाउन नसकेको बहानामा विद्यालयबाट निकालिएका थिए, क्षितिजराज लोहनी। अहिले उनको दिन फिरेको छ। यतिबेला यी २२ वर्षीय युवालाई विभिन्न विद्यालय/कलेजले निम्तो दिन थालेको छ, उत्प्रेरणात्मक कक्षाका लागि। उनले स्वयं आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै विद्यार्थीलाई सकारात्मक परिवर्तनका निम्ति उत्प्रेरणा दिइरहेका छन्। कुनै बेला अपहेलित भएर विद्यालयबाट निकालिएका क्षितिजलाई एउटा निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर नदिएको भए के हुन्थ्यो ? अनुमान गर्न गाह्रो छ।